हेटौंडा – नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा रक्षा सम्वाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मध्य पृतना मुख्यालयको समन्वयमा भएको छ दिने कार्यक्रममा बागमती प्रदेशका पाँच जिल्लाका १९ जना पत्रकारहरु सहभागी रहेका थिए ।
पौष २४ गतेदेखि २९ गतेसम्म मकवानपुरमा सञ्चालन भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रममा नुवाकोट, रसुवा, धादिङ, चितवन र मकवानपुरका पत्रकार सहभागीहरुलाई नेपाली सेनाको साङ्गठनिक स्वरुप, भूमिका तथा नेपाली सेना अन्तर्गतका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारी सम्बन्धमा जानकारी गराइएको थियो । सेनाले पछिल्लो समय इतिहास र सांस्कृतिक संरक्षणमा गरेको कार्य र महत्वको बारेमा जानकारी दिएको थियो ।
मकवानपुरस्थित मकवानपुरगढी, निर्माणाधिन काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग सडक आयोजना, पर्सा राष्ट्रिय निकुञ्ज र बारा जिल्लामा निर्माणाधिन एकिकृत स्मृति उद्यानको स्थलगत भ्रमण समेत गराइएको थियो ।
मध्य पृतनापति उपरथी होमनाथ दवाडीको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्टले नेपाली सेना र पत्रकारको सम्बन्ध, समन्वय तथा पत्रकार आचारसंहितालगायतका बारेमा प्रष्ट पारेका थिए ।




प्रतिक्रिया