रसुवा – जिल्ला खेलकुद विकास समितिको आयोजनामा दशौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। कालिका गाउँपालिका-२ कालिकास्थानस्थित कालिका हिमालय माविको खेलमैदानमा बिहिबारदेखि प्रतियोगिता सुरु भएको हो।
“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नाराको साथ सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य ईन्द्र गौतमले गरे। प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गौतमले विद्यार्थीनै सक्षम नागरिक हुने भएकोले राजनीतिमा लाग्नुपर्ने बताए । देशको नीति नियम बनाउने प्रमुखनै राजनीति भएकोले विद्यार्थी लाग्नुपर्ने भनाइ राखे ।

उद्घाटनको पहिलो खेलमा छात्रतर्फ नौकुण्ड गाउँपालिकाले कालिका गाउँपालिकालाई २५-१६ र २५-२२ को सोझो सेटले हटाउँदै विजयी भए । यस्तै, छात्रातर्फको पहिलो खेलमा कालिकाले नौकुण्डलाई २५-१५, २०-२५ र २५-१६ को सेटले हटाउँदै विजयी भए।
छात्रातर्फको १०० मिटर दौडमा नौकुण्ड गाउँपालिकाकी रश्मी ग्याम्दल तामाङ प्रथम, कालिकाकी मनिषा तामाङ द्वितीय र रंशु बुलुङ तृतीय भईन् । यस्तै, २०० मिटरको दौडमा कालिकाकी ललिता अधिकारी प्रथम नौकुण्डकी सर्मिला थिङ द्वितीय र उत्तरगयाकी गरिमा घिमिरे तृतीय भईन् ।
छात्रतर्फ १०० मिटरको दौडमा कालिकाका महेन्द्र परियार प्रथम, गोसाइँकुण्डका विशाल बुलुन द्वितीय र विशाल गोम्बो तृतीय भए । यस्तै, २०० मिटरको दौडमा उत्तरगयाका मुस्कान अधिकारी प्रथम, कालिकाका वीरु स्याङ्बा द्वितीय र गोसाइँकुण्डका विनय तामाङ तृतीय भए ।
छात्रातर्फ भएको लङजम्पमा गोसाइँकुण्डकी सरिता तामाङ प्रथम, कालिकाकी मनिषा तामाङ द्वितीय र नौकुण्डकी बिना थिङ तृतीय भईन् । यस्तै, छात्रतर्फ कालिकाका महेन्द्र परियार प्रथम, गोसाइँकुण्डका सुविन तामाङ द्वितीय र उत्तरगयाका संजिव थापा तृतीय भए ।
यसैगरी छात्रातर्फ भएको हाईजम्पमा गोसाइँकुण्डकी सोनी खड्की प्रथम, कालिकाकी सुनिता घर्ती द्वितीय भईन् । नौकुण्डकी विना थिङ र उत्तरगयाकी रबिना भट्ट तृतीय भएकी भईन् । यस्तै, छात्रतर्फ भएको हाईजम्पमा नौकुण्डका बिछोड कुमार मोक्तान, कालिकाका भीम तामाङ र आमाछोदिमोका रामबहादुर तामाङ तृतीय भए ।
फागुन १० गतेदेखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, दौड, हाइजम्प, लङजम्पलगायतका खेलहरु समावेश गरिएकोजिल्ला खेलकूद विकास समितिका कार्यालय कार्यालय सचिव रमेश श्रेष्ठले जानकारी दिए।
प्रतियोगीतामा आधारभुत तहका कक्षा ६ देखि ८ र माध्यमिक तहका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले विभिन्न खेलमा भाग लिएका छन् ।




प्रतिक्रिया