नुवाकोट – पञ्चकन्या गाउँपालिका वडा नं १ र २ मा बालबालिकाको जन्मदर्ता अभियान सञ्चालन गरिएको छ ।
दुई दिनसम्म सञ्चालित अभियान अन्तर्गत वडाभित्रका ५८ जना बालबालिकाको जन्मदर्ता गरिएको २ नम्बरका वडाध्यक्ष महानन्द ढकालले जानकारी दिए ।
विशेष गरी उमेर नपुगि विवाह गरेका दाम्पत्य, विवाहपछि सम्बन्धमा खट्पट् परेका जोडी तथा अन्य विविध कारणले विवाहदर्ता नभएका अभिभावकहरुबाट कानुनी उल्झन तथा अन्य डरका कारण बालबालिकाको जन्मदर्ता नगरिएको देखिएको उनले बताए । बालबालिकाको जन्मदर्ता गराएर उनीहरुले राज्यबाट पाउने सेवासुविधा र अधिकार सुनिश्चित गर्न वडाबासीलाई आग्रह उनले गरे ।
अभियानबाट व्यक्तिगत घटनाहरु ३५ दिनभित्र गर्दा शुल्क नलाग्ने र त्यसपछि दर्ता शुल्क लाग्ने जानकारी अभियानमा अविभावकहरुलाई दिईएको रुडेकनेपालका अध्यक्ष मिनकुमार केसीले जानकारी दिए । अभियानको क्रममा इन्द्रायणी मावि, आँपचौर आधारभूत विद्यालय, शान्ति विद्या मन्दिर आधारभूत विद्यालय, राष्ट्रिय मावि र कालिका माविमा भर्ना भएका विद्यार्थीहरुको अभिभावकसँग अन्तक्रिया गरिएको उनले जानकारी दिए ।
वडाको जन्मदर्ता अभियानमा गुड नेवर्स इन्टरनेशनल नेपाल तथा ग्रामिण विकास तथा सशक्तिकरण केन्द्र (रुडेक नेपाल)ले सहजीकरण गरेको थियो ।




प्रतिक्रिया