नुवाकोट – ककनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ ।
दुवै मिर्गौला फेल भएर बिरामी भएका लामाको बुधबार बिहान करिब ३ बजे निधन भएको ककनी गाउँपालिका उपाध्यक्ष मिठुमाया तामाङले जानकारी दिईन् । काठमाडौंको अस्पतालबाट घर फर्काउँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनका अनुसार मिर्गौला प्रत्यारोपणको तयारीमा रहेको बेला सुगर र रक्तचाप नियन्त्रण हुन नसक्दा ढिलाइ भइरहेको थियो ।
ककनी गाउँकार्यपालिका सदस्य लामा ककनी-२ को काउलेथानामा २०३५ साउन ४ गते जन्मिएका थिए । २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा लामा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
ककनी गाउँपालिका रानीपौवाले दिएको जानकारीअनुसार निधन भएका लामाको बुधबार बेलुकी नै अन्तिम संस्कार गरिएको छ। उनको पार्थिव शरीरमा अर्थमन्त्री प्रकाशशरण महतले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए।
वडाध्यक्ष तीलकवहादुर लामाको निधन भएपछि ककनी गाउँपालिकाले शोक विदा दिएको छ। गाउँपालिकाको आकस्मिक बैठकले शोक विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी शर्माले जानकारी दिइन्।




प्रतिक्रिया