विदुर – रक्तदाता अभियन्ता मछिन्द्रनरसिंह प्याकुरेललाई सम्मान गरेको छ । शुक्रबार जनस्वास्थ्य कार्यालय नुवाकोटलले प्याकुरेललाई कदरपत्रसहित सम्मान गरेका हुन् ।
जनस्वास्थ्यले २०औं विश्व रक्तदाता दिवसको अवसरमा नुवाकोट जिल्लामा सबैभन्दा बढी रक्तदान गराउने संस्था, महिलाबाट रक्तदान गराउने संस्था र बढी रक्तदान गर्ने व्यक्तिलाई सम्मान गरेको छ ।
प्याकुरेललाई सबैभन्दा बढी रक्तदान गरेबापत् सम्मान गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए ।
प्याकुरेलले अहिलेसम्म ५१ पटक रक्तदान गरेका छन् । प्याकुरेलले नुवाकोट, रसुवा, धादिङ, काठमाडौँलगायतका जिल्लामा रगत सेवामा सहजिकरण गर्दै आईरेका छन् ।
यस्तै, सुबास भण्डारीले २५ पटक र निता थपलिया (महिला)ले २४ पटक सबैभन्दा बढी रक्तदान गरेकोमा सम्मानित भएका छन् ।
सबैभन्दा बढी रक्तदान गराउने संस्थामा जनजागृत युवा क्लब, समृद्घ नुवाकोट र जिल्ला प्रहरी कार्यालय रहेका छन् । यसैगरी सबैभन्दा बढी महिलाबाट रक्तदान गराउने संस्थामा त्रिशूली एजि चर्च, नेपाल रेडक्रस सोसाईटी काहुले उपशाखा र मानव अधिकार शान्ति समाज रहेका छन् ।
सम्मानित रक्तदाता र संस्थाका प्रतिनिघिलाई जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीलगायतले दोसल्ला ओढाई कदरपत्र र करुवाले सम्मान गरेका छन् ।




प्रतिक्रिया