विदुर – हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको ब्रत गरी विशेष पूजा गर्दै आएकामा मङ्गलबार (आज) दामोदरसँग विवाह गरी यो पर्व मनाइएको छ ।
देशभरका विष्णु भगवानका मन्दिर तथा नदी दोभानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाउन लागिएको हो ।
नुवाकोटमा भने देवीघाटको जालपादेवी मन्दिर, उत्तरगयाधाम बेत्रावती, दुप्चेश्वर महादेव, फिकुरी, सिमचौर, शुलक्षणा मन्दिरलगायत देशभरका नारायण मन्दिर तथा नदी दोभानमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो ।
रातभर जागाराम बसी मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरु पूजा गर्न र तोरण टाँग्न भेला भएका थिए । नेवार समुदायले भने आत्म (म्हः) पूजा र किजा पुजामा लगाएको कोखा:, माला र मण्डल बनाएको पुजा सामग्रीहरु नदीमा सेलाएका थिए।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधिअनुसार पूजाआजा गरी तुलसीको विवाह गरिदिने प्रचलन छ ।
हरिबोधिनी एकादशीलाई वर्षभरका अरु एकादशीमध्ये सबैभन्दा महत्वपूर्ण मान्ने गरिन्छ । यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिने गरिन्छ । नारायणको पूजा गरी आजको दिन भक्तजनहरु फलाहार गर्ने गर्दछन् । आज सखरखण्ड, पिँडालु, गिठालगायतका कन्दमूल र फलफूल प्रसादका रुपमा खाने गरिन्छ ।
प्रत्येक हरिबोधनी एकादशीको अघिल्लो दिन पितृहरुको सम्झनामा देवीघाटको जालपादेवी मन्दिर परिसर वरिपरि रातभरी जाग्राम बसी बत्ती बाल्ने चलन छ ।




प्रतिक्रिया